नेपालको राष्ट्रिय महिला क्रिकेट टोली बंगलादेशमा बुधबार सम्पन्न बंगबन्धु बीकेएसपी कप वुमन फ्रेन्डसिप टी–२० शृंखलाको उपाधि जितेको छ ।
बुधबार बंगलादेशको बीकेएसपीको टिमलाई ७ विकेटले पराजित गर्दै नेपालले टोलीले शृंखलामाथि २–१ ले कब्जा जमाएको हो । पहिलो खेल २४ रनले जितेको नेपालले दोस्रो खेल ५ विकेटले गुमाएको थियो ।
बीकेएसपीलाई ५४ रनमै रोकेको नेपाली टोलीले १४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।
सरिता मगर १३, कबिता जोशीले १४ तथा काजल श्रेष्ठले १० रन जोडे । बंगलादेशी टिमकी काब्या खातुनले २ तथा रब्याले १ विकेट लिए ।
त्यसअघि बीकेएसपीले १६ दशमलवल ५ ओभरमा अलआउट हुँदै ५३ रन जोड्यो । बोन्याले अविजित १७ रन बनाउनु बाहेक कुनै खेलाडीको प्रर्दशन उल्लेख्य रहन सकेन ।
नेपालका लागि रुबिना क्षेत्रीले ४, करुणा भण्डारीले २ तथा कबिता कुवर र सिता रानाले एक एक विकेट लिए ।
नेपाकी कप्तान रुबिना क्षेत्री प्लेयर अफ दी सिरिज समेत घोषित भए ।
टी–२० विश्वकपको एसिया छनोटका लागि नेपाली टोलीले बंगलादेशमा अभ्यास खेल खेलेको हो ।
युएईमा हुने आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।
आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । यस्तै मंसिर ७ गते भुटानसँग, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग खेल्ने नेपालको तालिका छ ।
सन् २०२३ मा दक्षिण अफ्रिकामा आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुँदैछ ।
सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।
नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई रहेका छन् ।