नेपालले कतारसँग टी-२० शृंखला खेल्ने

नेपाली महिला क्रिकेट टोलीले पहिलोपल्ट कतारसँग टी-२० शृंखला खेल्ने भएको छ ।

आइतबार नेपाली महिला टोलीले कतार भ्रमणमा निस्कने क्यानले जनाएको छ ।

नेपाली टोलीले कतारमा कार्तिक ३०, मंसिर १ र २ गते कतारसँग तीन टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका तय भएको छ ।

त्यसपछि नेपाली टोली मंसिर ३ मा युएईतर्फ जानेछ । जहाँ नेपालले टी–२० विश्वकपको एसिया छनोटको एसिया छनोट खेल्नेछ ।

युएईमा हुने आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्नेछ ।

आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ । यस्तै मंसिर ७ गते भुटानसँग, मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग खेल्ने नेपालको तालिका छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपालसहित ६ राष्ट्रले युएईमा एसिया छनोट खेल्न लागेका हुन् । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएई गरि ६ राष्ट्र सहभागी छन् । एसिया छनोट नोभेम्बर २२ देखि २८ सम्म हुँदैछ ।

सबैले एकअर्कासँग खेलेपछि शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा प्रवेश पाउनेछ । महादेशबाट छनोट भई आएकाबीच ग्लोबल छनोटमा प्रतिस्पर्धा हुनेछ। त्यसमा शीर्ष दुई स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

नेपाली महिला टोलीमा रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest