नेपाली महिला टोलीलाई कतारविरुद्ध टी–२० अन्तर्राष्ट्रिय शृंखला

बुधबार दोहामा भएको तीन खेलको टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले कतारलाई ६१ रनले पराजित गर्दै पहिलो टी–२० अन्तर्राष्ट्रिय शृङ्खला जितेको छ ।

टस जितेर ब्याटिङ गरेको नेपाल टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो। नेपालका लागि ज्योति पाण्डे र सबनम राईले डेब्यु गरेका थिए । यसअघिको खेलमा अर्धशतक बनाउने इन्दु बर्मालाई विश्राम दिएको थियो ।

ओपनर कविता कुँवरले दुई छक्का प्रहार गर्दै ३१ रन बनाइन् । अप्सरी बेगमले अन्त्यमा २३ रनको योगदान गरिन् । बेगमले १७ बलमा एक चौका प्रहार गरिन् । तर, आज सबैभन्दा ठूलो योगदान कप्तान रुबिनाको ब्याटबाट आयो ।

रुबिना क्षेत्रीले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरमा पहिलो अर्धशतक दर्ता गरेकी हुन् । क्षेत्रीले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरी ५० रन बनाएकी थिइन् । उनी महिला टी–२० अन्तर्राष्ट्रियमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेकी छिन् । मंगलबार कतारविरुद्धको पहिलो टी–२० खेलमा इन्दु बर्माले अविजित ५५ रन बनाएकी थिइन् ।

कतारका लागि एन्जेलिन मारेले २ विकेट लिईन।

जवाफमा कतार महिला टोली १९ ।३ ओभरमा ६८ रन बनाएर समेटियो । कप्तान आयशाले ३२ बलमा दुई चौका प्रहार गर्दै सर्वाधिक २४ रन बनाएकी थिइन् । केरी पाउनसेटले १५ रनको योगदान दिएपनि नेपाली बलरहरु आजको खेलमा पनि हावी रहे ।

सरस्वती कुमारी (४-१-८-४) ले ४ ओभरमा चार विकेट लिएर उत्कृष्ट बलिङ गरिन् । रुविना क्षेत्रीले २ तथा कविता जोशी, संगीता राई र सबनम राईले एक-एक विकेट लिए ।

नेपालका कप्तान रुबिना क्षेत्रीलाई प्लेयर अफ द म्याचको उपाधि दिइएको थियो ।

नेपालले अब अन्तिम खेल बिहीबार दोहास्थित वेस्ट एन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल्ने छ ।

१४ सदस्यीय नेपाली महिला टोली नोभेम्बर २२ देखि २८ सम्म हुने आईसीसी महिला विश्वकप एसिया छनोटका लागि नोभेम्बर १९ मा दुबई प्रस्थान गर्नेछ ।

नेपालले आयोजक युएई, मलेसिया, भुटान, हङकङ र कुवेतसँग खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest