सोनुको शतक प्रेरित प्रदेश १ को लगातार तेस्रो जित

सोनु अन्सारीको शतक प्रेरित प्रदेश १ को काठमाडौंमा जारी यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा प्रदेश १ ले प्रदेश २ लाई ७ विकेटले पराजित गर्‍यो ।

प्रदेश २ ले दिएको २ सय १२ रनको लक्ष्य प्रदेश १ ले ४४.१ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो ।

प्रदेश १ का सोनु अन्सारीले १ सय १९ रनको अविजित इनिङ्स खेले । अन्सारीले १ सय ४५ बलको सामना गर्दा १४ चौका र ३ छक्का प्रहार गरे ।

त्यसबाहेक उसका दिपेश कँडेलले ३३ र विवेक आनन्द मेहताले २४ रन जोडे । प्रदेश २ का विवेक यादव, प्रदिप पासवान र तृत राज दासले १–१ विकेट लिए ।

त्यस अघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश २ ले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।

प्रदेश २ का लागि कप्तान विवेक यादवले ७० जोडे । ७१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै ४७, समसद मनसुरीले १६, आदिल अन्सारीले १३ र प्रदिप पासवानले १० रन थपे ।

प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ३ विकेट हात पारे भने दिपक जोशी र गौरव कटुवालले समान २-२ विकेट लिए ।

यस जितसँगै प्रदेश १ ले फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । यस अघि प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रन तथा बागमती प्रदेशलाई २६ रनले पराजित गरेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest