अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसीसी)ले नेपाल क्रिकेट संघ(क्यान)लाई दिने बजेटमा ह्वात्तै वृद्धि गरेको छ।
आगामी वर्ष २०२२ का लागि आइसीसीले क्यानलाई ५ लाख ७२ हजार डलर रकम वृद्धि गरेको हो। योसँगै क्यानले समग्रमा १३ लाख २० हजार बजेट पाउने तय भएको क्यानका कोषाध्यक्ष रोशन सिंहले क्रिकनेपाललाई बताए।
गतवर्षे क्यानले ७ लाख ४८ डलर वार्षिक बजेटमात्रै नेपाललाई दिएको थियो। तर यसपल्ट आइसीसीकै गाइडलाइन अनुसार काम गरेको भन्दै उक्त रकमवृद्धि गरिएको सिंहले बताए।
‘हामीले सम्पूर्ण कार्यक्रम आइसीसीकै मापदण्डअनुसार, उसले तोकेको ढाँचामा पारदर्शी ढंगबाट सम्पन्न गरेका थियौं,’ सिंहले भने, ‘हामीले गरेको मिहिनेतको परिणाम अहिले देखिएको छ। मेरो विचारमा क्यानले पाएको यो अहिलेसम्मकै ठूलो बजेट हो।’
क्यानले आइसीसीको मापदण्ड अनुसार चिफ फाइनान्स अफिसर, जनरल म्यानेजर, क्रिकेट म्यानेजर नियुक्त गर्नुको थियो।
त्यसबाहेक दाङमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट, काठमाडौंमा पीएम कप र मेयर कप राष्ट्रिय क्रिकेट, काठमाडौंमा त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिसकेको छ।