कप्तान मल्लसहित ४ खेलाडीलाई कारवाही गर्न सिफारिस

नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी अनुशासन छानविन समितिले कप्तान ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई अनुशासनको कारवाही गर्न सिफारिस गरेको छ ।

क्यानकाबारेमा विभिन्न टिकाटिप्पणी गरेपछि क्यानले गठन गरेको खेलाडी अनुशासन छानविन समितिले मल्लसहित उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले अनुशासन उल्लंघन गरेको ठहर गर्दै कारवाहीको सिफारिस गरेको हो ।

खेलाडीहरुले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै क्यानले सुरुमा स्पष्टीकरण सोधेको थियो । जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएपछि क्यान र खेलाडीहरुबीच तिक्तता बढेको हो ।
लगत्तै क्यानले कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लको संयोजकत्वमा अनुशासन समिति गठन गरेको थियो । उक्त अनुशासन कमिटिले खेलाडीलाई कारवाही गर्नुपर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको हो ।

‘मुल संस्थाप्रति कुनै जिम्मेवारी, मायाँ, ममता कुनै बोध नै नभएको पाइयो । उल्टै धम्की दिने खेलाडीलाई गुटबन्दी गर्ने भएका छन्,’ समितिका संयोजक मल्लले भने, ‘कप्तान(ज्ञानेन्द्र मल्ल)ले आफ्नो शक्तिको दुरुपयोग गरेर खेलाडीहरुको जर्बजस्ती हस्ताक्षर गराएको हामीसँग प्रमाण छ । उहाँहरुमा हामीलाई किन स्पष्टिकरण सोधियो भन्ने दम्भ देखियो ।’

उक्त प्रतिबेदनका आधारमा क्यानले बोर्ड बैठकबाट खेलाडीलाई कारवाही प्रक्रिया अघि बढाउँने छ । क्यान बैठक मंगलबार बस्ने कार्यतालिका रहेको छ ।

आफूहरुले जिम्मेवारी दिए अनुसार प्रतिवेदन तयार पारेर बुझाएको तथा आफूहरुले जे जे देखियो, जे जे भोगियो, जे जे घटनाक्रम भयो सबैकुरा स्पष्ट राखिदिएका बताउँदै उहाँले कारवाहीको निर्णय बोर्डले गर्ने मल्ले बताए ।

‘हदैसम्मको कारवाही हुन्छ । जतिसम्मको उहाँले अपराध गर्नुभएको छ । त्योसम्मको कारवाही हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यहाँ जे जति उहाँले गर्नुभएको अनुशासनहिनताको काम छ । त्यो अनुसार कारवाही हुन्छ ।’

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest