प्रतिसोध र बदला भावनाले व्यक्तिगत सन्तोष मिल्ला तर क्रिकेटलाई हानी गर्छ: क्यान सदस्य

नेपाल क्रिकेट संघ(क्यान)का कार्यसमिति सदस्य छुम्बी लामाले क्यान कार्यसमितिले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाउँदै कारवाही गर्ने क्यानको निर्णयको विरोध गरेका छन्।

उनले वाक् स्वतन्त्रता अभ्यास गर्दा, अन्याय परेको खेलाडीको लागि आवाज उठाउदा, आफ्नो नैसर्गिक अधिकारलाई अङ्गीकार गर्दा क्यानले गरेको अतिवादी निर्णयको बोर्ड सदस्यको घोर भर्सना गरेको जनाएका छन्।

प्रतिसोध र बदला भावनाले व्यक्तिगत सन्तोष त मिल्ला तर समग्र नेपाली क्रिकेट र खेलप्रेमीले बर्षौंसम्म क्षति बेहोर्न पर्ने उल्लेख गरेका छन्।

समाजिक सञ्जालमा उनले लेखेका छन्,’जसले रात दिन नभनी, भविष्यको पर्वाह नगरी आफ्नो जीवन नेपाली क्रिकेटलाई सुम्पियो त्यसको परिणाम उसले आज आफ्नै अभिवाकको (क्यान) बाट कारबाही खेप्नुपर्यो। योभन्दा ठूलो बिडम्बना सायदै होला। १६ वर्ष निरन्तर राष्ट्रिय टिमलाई इमानदारीपूर्वक सेवा गरेका अब्बल खेलाडीलाई क्यानले राष्ट्रिय टिमको कप्तानबाट अस्वाभाविक रुपमा, हटाउनु पूर्व कुनै संवाद नगरी पदच्युत गरिनु उग्रवादी र अपमानजनक निर्णय हो। साथै राष्ट्रिय टिमका लागि महत्वपूर्ण योगदान दिएका उपकप्तान, अलराउन्डर र तीव्र गतिका बलरले यहि नियति भोग्नु पर्यो।’

उनले थपेका छन्, ‘आइसिसी टी-२० विश्वकप छनोट आइरहेको र नयाँ प्रशिक्षक नियुक्त भएको अवस्थामा टिमको एकतामा चोट पुगेको छ। टिमको एकता बलियो बनाउनु पर्ने यो बेला क्यानको कदमले खेलाडीलाई कमजोर बनाउने काम भएको छ।अभिभावकीय भूमिकालाई बेवास्ता गर्दै क्यानले यो हदसम्मको अपरिपक्वता प्रस्तुत गर्नु कुनै पनि कोणबाट जायज छैन। एउटा संस्था भएपछि त्यहाँ विवाद र भिन्नता स्वाभाविक रुपमा हुन्छन्। तर त्यो मतभेदलाइ एउटा फलदायी बहस, संवादमा परिणत गर्न नसक्नु एउटा नेतृत्वको असक्षमता हो भन्ने सहजै पुष्टि हुन्छ। वाक् स्वतन्त्रता अभ्यास गर्दा, अन्याय परेको खेलाडीको लागि आवाज उठाउदा, आफ्नो नैसर्गिक अधिकारलाई अङ्गीकार गर्दा क्यानले गरेको यस अतिवादी निर्णयको म बोर्ड सदस्यको नाताले घोर भर्सना गर्दछु।’

‘चुनौतीलाई अवसरमा बदल्ने हो, अफ्ठ्यारा खुड्किलाहरुको सकारात्मकताका साथ आत्मसात गर्ने हो, प्रतिसोध र बदला भावनाले व्यक्तिगत सन्तोष त मिल्ला तर समग्र नेपाली क्रिकेट र खेलप्रेमीले बर्षौंसम्म क्षति बेहोर्न पर्ने हुन्छ। यस्तै गतिविधिमा आफ्नो उर्जा खति गर्दा क्यान आफूले बोकेको उद्धेस्यबाट डगमगिन्छ, दिशाहीन हुन्छ। कारबाही निकास हुँदै हैन भनेर पटक पटक हामीले झकझकाउदा हाम्रो सुझावलाई वेवास्ता गरियो। मर्माहित छु, स्तब्ध छु।’उनले थपेका छन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest