नेपाल पुगेपछि क्रिकेट विवादबारे के भने मुख्य प्रशिक्षक पुबुदुले?

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके मंगलबार नेपाल आइपुगेका छन् ।

त्रिभुवन विमानस्थलमा पुबुदुलाई नेपाल क्रिकेट संघ (क्यान)का क्रिकेट म्यानेजर विनोद दासलगायतले स्वागत गरेका थिए ।

दोस्रोपटक नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका दासानायकेले पुनः नेपाल फर्कदा धेरै खुशी भएको बताएका छन् ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिदैँ उनले भने, ‘म फेरि नेपाल फेरि फर्किदा एकदमै खुशी छु । पहिले र अहिलेको नेपाली क्रिकेटमा धेरै फरक छ । अहिले टोलीले एकदिवसीय मान्यता पाइसकेको छ ।’

क्यानविरुद्ध बोलेको भन्दै चारजना खेलाडीहरुमाथि क्यानले अनुशासनको कारबाही गरेको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदबाट हटाएको क्यानले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट हटाएको छ ।

यसले गर्दा क्यान र खेलाडीबीच खटपट सुरु भएको थियो तर पुबुदुले भने यो विवाद सामान्य भएको र कोठामा बसेर मिलाउन सकिने बताए ।

‘खेलाडी र क्यानबीचको विवाद सामान्य कुरा हो । यो विवाद कोठामा बसेर समाधान गर्न सकिन्छ,’ उनले भने ।

चारमहिनाअघि तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले खोलेको आवेदनबाट पुबुदु मुख्य प्रशिक्षकमा चयन भएका हुन् ।

यसअघि २०११ देखि २०१५ सम्म पुबुदु नेपालको प्रशिक्षक रहेका थिए । उनको पालामा नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो भने डिभिजन ४ देखि ३ सम्मको उपाधि जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest