अकिलले तोडे सोमपालको ८ वर्ष पूरानो कीर्तिमान, इंग्ल्याण्ड १ रनले विजयी

नेपाली तीव्र गतीका बलर सोमपाल कामीको ८ वर्ष पूरानो कीर्तिमान भंग भएको खेलमा वेस्ट इन्डिजविरुद्धको दोस्रो टी-२० अन्तर्राष्ट्रियमा इंग्ल्याण्डले १ रनको रोमाञ्चक जित हात पारेको छ ।

१ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७० रन बनायो ।

वेस्टइन्डिजका अकिल हुसेनले १० औं नम्बरमा ब्याटिङ गर्दै आएर १६ बलमा ३ चौका र ४ छक्कासहित ४४ जोडे । जुन टी-२० अन्तर्राष्ट्रियमा १० औं नम्बरमा ब्याट्सम्यानले बनाएको सर्वाधिक रन समेत हो ।

यसअघि यो कीर्तिमान नेपालका सोमपाल कामीका नाममा थियो । सोमपालले सन् २०१४ मा हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएका थिए ।

वेस्टइन्डिजलाई जितको लागि अन्तिम ६ बलमा ३० रन चाहिएका बेला अकिलले इंग्ल्याण्डका सकिव महम्मदलाई दुई चौका र तीन छक्का प्रहार गर्दै २८ रन जोडका थिए ।

दोस्रो र तेस्रो बलमा लगातार चौका प्रहार गरेका उनले अन्तिम तीन बलमा तीन छक्का प्रहार गर्दै सोमपालको नाममा रहेको ८ वर्ष पूरानो कीर्तिमान तोडे पनि टोलीलाई जितका लागि पर्याप्त भएन ।

यस्तै वेष्टइण्डिजका रोमारियो शेफर्डले २८ बलमा १ चौका र ५ छक्कासहित ४४ रनमा जोडे । इंग्ल्यान्डका मोईन अलीले ४ ओभरमा २४ रन खर्चेर तीन विकेट लिए भने आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जेसन रोयले ३१ बलमा ६ चौका र २ छक्कासहित ४५ रन बनाए ।

त्यसबाहेक टम ब्यान्टन २५, मोईन अलीले ३१ तथा क्रिस जोर्डनले २७ रन थपे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले २–२ विकेट लिए ।

योसँगै पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला १–१ को बराबरीमा टुंग्गिएको छ । पहिलो खेलमा वेस्टइन्डिज ९ विकेटले विजयी भएको थियो । अब तेस्रो खेल बुधबार हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest