पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक

पपुवा न्यूगिनी(पीएनजी)लाई ३७ रनले हराउँदै नेपाल त्रिवि क्रिकेट मैदानमा जारी क्रिकोणात्मक क्रिकेट टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पुगेको छ।

अन्तिम ओभरमा करण केसीले ह्याट्रिक विकेट लिएपछि २०४ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी २ बल बाँकी रहँदै सबै विकेट गुमाएर १६६ रनमा समेटियो।

पीएनजीका चाल्र्स अमिनीले ४७ बलमा बलमा ६२ रन जोडे। उनले ९ चौका प्रहार गरे। यस्तै टोनी उराले २२ बलमा २ चौका र ४ छक्कासहित ४३ रन जोडे। यस्तै सिसी बाउले २५, नोर्मन भाउनाले १७ रन थपे।

म्यान अफ द म्याच भएका करण केसीले ३.४ ओभरमा २१ रन खर्चिएर ह्याट्रिक ५ विकेट लिए। अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा करणले लगातार तीन विकेट लिदै ह्याट्रिक विकेट हात पारेका थिए ।

यस्तै अविनाश बोहरा र सोमपाल कामीले २–२ तथा सन्दीप लामिछानेले एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ६६ रनको आक्रामक पारी खेले। उनले ३ चौका र ४ छक्का प्रहार गरे।

यस्तै डेब्यू खेलाडी आदिल आलमले ११ बलमा एक चौका र ३ छक्काको मद्दतमा ३१ रन बनाए। त्यसअघि रोहित पौडेलले २३ बलमा ४ चौका र २ छक्का प्रहार गरेका थिए।

ओपनर आसिफ सेखले २९ बलमा ४ चौका र एक छक्का हिर्काए। अर्का ओपनर कुशल भुर्तेलले २० बलमा दुई चौका मद्दतमा १७ रन बनाए।

दीपेन्द्रसिंह ऐरीले १८ औं ओभरको सुरुवाती ३ बलमा लगातार तीन छक्का प्रहार गरेका थिए। यस्तै सोही ओभरको अन्तिम बलमा उनले चौका प्रहार गरेपछि सो ओभरमा नोपलले २४ रन जोडेको थियो।

यस्तै १९ औं ओभरमा नेपालले ३२ रन जोड्यो। उक्त ओभरमा आदिलले तीन छक्का र एक चौका तथा दीपेन्द्रले एक छक्का प्रहार गरेका थिए।

अन्तिम ओभरमा भने नेपालले ३ विकेट गुमाएको थियो। आदिललाई ३१ रनमा गुमाएको नेपालले दीलिप नाथलाई शुन्य र करण केसीलाई १ रनमा गुमाएको थियो।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest