मलेसियामाथि पीएनजीको सनसनीपूर्ण जित

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलामा मलेसियामाथि पपुवा न्यूगिनी(पीएनजी)ले ८ विकेटको सनसनीपूर्ण जित हात पारेको छ ।

मलेसियाले दिएको १९७ रनको लक्ष्य पछ्याएको पीएनजीले १३ बल बाँकी रहँदै २ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

तेस्रो विकेटका लागि कप्तान असाद भाला र टोनी उराबीच १३५ रनको साझेदारी भएपछि पीएनजीले सिरिजमा पहिलो जित हात पारेको हो ।

आक्रामक पारी खेल्ने क्रममा टोनीले ३४ बलमा २ चौका र १० छक्कासहित ८६ रनको नटआउट पारी खेले । यस्तै भालाले ५१ बलमा ८ चौका र एक छक्कासहित ७४ रन जोडे ।

चाल्र्स एमिनीले २२ बलमा ५ चौकासहित २८ रन जोडेका थिए । ओपनर लेगा सिका भने शुन्य रनै आउट भएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

मलेसियाका कप्तान अहमद फैजले ६३ र सइज अजिजले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । फैजले ४३ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै अजिजले ३५ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै आपेनर जुर्बादी जुलकिफीले २२ बलमा ४ चौका र ४ छक्कासहित ४६ रन जोडे । यस्तै अर्का ओपनर वीरनदीप सिंहले भने १० तथा मोहम्मद आमिरले ८ रन थपे ।

तेस्रो विकेटका लागि फैज र अजिजबीच ११५ रनको साझेदारी गरेपछि मलेसिया उक्त स्कोर बनाएको हो ।

पीएनजीका काबुआ मोरियाले ४ विकेट लिए । यस्तै रिले हेकुरे र चाद सोपरले समान १–१ विकेट लिए ।

जितसँगै पीएनजी २ अंकसहित दोस्रो स्थानमा पुगेको छ । मलेसिया रनरेटमा पछि पर्दै तेस्रो स्थानमा छ । अब शनिबार हुने नेपाल र मलेसियाबीचको विजेताले फाइनलमा नेपालसँग खेल्नेछ ।

नेपाल भने यसअघि नै ३ खेल जितेर फाइनलमा पुगिसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest